काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगै माधव नेपाल पक्षीय नेतासमेत सहभागी भएका छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतको विषयमा छलफल हुँदैछ । जसपाका उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै सरकार विस्तारका लागि छलफल हुन लागेको हो ।
बैठकमा प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँगै जसपा नेता डा. बाबुराम भट्टराई, अशोक राई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगै नेपाल समूहका नेता डा. विजय पौडेल सहभागी छन् ।
सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवा सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जमन्त्री र एक राज्यमान्त्री छन् ।
जसपालाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादी र जसपाले सरकारमा जाने निश्चित भए पनि नेपाल पक्ष सरकारमा जाने टुंगो लागिसकेको छैन ।