एजेन्सी। अष्ट्रेलियाको सिड्नीमा थप एम महिनाको लागि लकडाउन थपिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो।
सिड्नीमा बिहीबारदेखि लागुहुने गरी पुनः एक महिना लकडाउन थप गरेको हो। सिड्नीमा यसवर्ष मात्र २५ सय मानिस कोरोना संक्रमित भएका छन्। अहिले थपिएको एक महिनाको लकडाउनको नियम थप कडा बनाइएको छ।
अष्ट्रेलियाको भिक्टोरिया र साउथ अष्ट्रेलियामा लगाइएको लकडाउन भने बुधबारबाट हटाइएको छ। कोरोना महामारीको अधिकांश समय अष्ट्रेलियामा संक्रमितको संख्या तुलनात्मक रुपमा निकै कम देखिएको थियो।
सरकारले सीमा बन्द गर्ने, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्नेलगायतका व्यवस्था गर्दै संक्रमण नियन्त्रण गर्दै आएको छ। यद्यपि पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै अष्ट्रेलियामा संक्रमण बढेको हो।
यो लकडाउन सेप्टेम्बर वा अझै परसम्म पनि जान सक्ने चेतावनी सरकारी अधिकारीले दिएका छन्। अधिकारीले संक्रमणदर शून्यको हाराहारीमा नपुग्दासम्म लकडाउन खोल्न नसकिने बताएका छन्। पछिल्ले समय अष्ट्रेलियाका नागरिकले लकडाउनको विरोध गर्दै आएका छन्।