काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लूएचओले जनाएको छ ।
विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको तथ्यांक छ ।
अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ । कतिपय देशमा भने कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ ।