काठमाडौं। नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टनको भर्चुअल निर्णायक कोर्ष आइतबारदेखि सुरुआत गरेको छ। दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्देश्य अनुरुप संघमा आवद्ध प्रत्येक जिल्लामा कम्तिमा दुईजना दक्ष निर्णायक उत्पादन गर्न कोर्षको सुरुआत गरेको हो।
संघमा आवद्ध जिल्ला र एपीएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रीय सदस्य एवं कोर्षका प्रशिक्षक दीपक थापाले जानकारी दिए। सहभागीलाई थापाले प्रशिक्षण गर्नेछन्। ब्याडमिन्टन एशियाका एक्रिडिएटेड अम्पायर सुमित शाक्य, समन ईकबाल र कृतन खड्का सहयोगीको भूमिकामा रहने छन्।
दुई चरणमा गरेर संचालन गरिने कोर्षमा ब्याडमिन्टनसंग सम्बन्धित प्राविधक ज्ञान प्रदान गरिने समेत थापाले जानकारी गराए। १० दिनसम्म संचालन हुने कोर्षमा सहभागीलाई दुई चरणमा गरेर प्रशिक्षण प्रदान गरिने छ। पहिलो चरण साउन १७ देखि २१ र दोस्रो चरण २२ देखि २७ गतेसम्म हुनेछ।
नेपाल ब्याडमिन्टन संघले संचालन गर्न लागेको यो पहिलो आधिकारीक कोर्ष हो। कोर्षमा उत्तीर्ण निर्णायकको प्रयोगात्मक परीक्षा नेपाल ब्याडमिन्टन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा लिइने र त्यसमा उत्तिर्ण निर्णायकलाई नेपाल ब्याडमिन्टन संघले आधिकारीक प्रमाण पत्र वितरण गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने समेत संघले जनाएको छ।
यसअघि पनि निर्णायकको लागि विभिन्न जिल्लाले नेपालका राष्ट्रिय रेफ्री र अम्पायरको माध्ययमबाट प्रशिक्षण प्रदान गर्दै आइरहेकोमा यस पटकदेखि संघले आधिकारीक रुपमै आफ्नो सम्पत्तिको रुपमा दक्ष निर्णायक उत्पादन गर्ने उद्देश्यलाई कार्यान्वयनमा ल्याएको हो।
प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, चितवन, दैलेख, दाङ्ग, धादिङ्ग, धनकुटा, डोटी, इलाम, जलेश्वर, झापा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, कास्की, काठमाडौं, काभ्रे, महोत्तरी, मोरङ, नवलपरासी, नवलपुर, नुवाकोट, ओखलढुङ्गा, पाल्पा, पाँचथर, पर्वत, पर्सा, रुपन्देही, सल्यान, संखुवासभा, सत्परी, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, सुनसरी, सुर्खेत, तनहु, तेह्रथुम, उदयपुर र एपिएफ क्लब सहभागी छन्।