काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू सरकारबाट हटेसँगै कांग्रेसबाट दमन सुरु भएको बताएका छन्।
‘हामी सरकारबाट हट्यौं। सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन। स्काउटविरुद्ध जुलुस निकाल्न थालियो,’ ओलीले भने। उनले दुई मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे चार सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको आरोप लगाउँदै देउवालाई प्रतिगामीको संज्ञा दिएका हुन्।
तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खवरदारीसमेत गरे ।
‘यी सबै कुराको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्दछौं’, अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने, ‘प्रतिवाद गर्छौ र आवश्यक पर्यो भने प्रतिरोध ।’
उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दाबीसमेत गरेका छन् ।
अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिस्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताए ।
उनले माधव नेपाललगायतका नेताले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाए । ‘पार्टीप्रतिको निष्ठा, इमान सब छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पुर्याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ।’
अध्यक्ष ओलीले आक्रोशित हुँदै भने, ‘यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।’
अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दाबी गरे । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढ्ने पनि बताए ।