काठमाडौं। सांसद गजेन्द्रबहादुर महतले मन्त्री छान्न कठिन भएको समाचार आइरहेको भन्दै अब लाइसेन्स जारी गर्न माग गरेका छन्।
उनले मन्त्री बन्न शर्त राख्नुपर्ने भन्दै नेतामाथि व्यङ्ग्य गरेका हुन्। उनले टन्न पैसा भएको, पार्टी फेरबदल गरिरहने, नेतृत्वलाई घुर्की लगाउने, गुटमा आवद्ध भएको हुनुपर्ने शर्त राख्नु पर्ने बताएका हुन्।
सँगै उनले भ्रष्टाचार र कमिसनका सबै दुला थाहा भएको, सदनमा आउने झन्झट गर्नु नपर्ने व्यवस्था मिलाए मन्त्रीलाई सजिलो हुने बताए।
‘सुनिन्छ मन्त्री चुन्न सकस भयो। एउटा लाइन्सेस जारी गरौँ। मन्त्रीको लाइसेन्स !’, प्रतिनिधिसभामा बोल्दै सांसद महतले भने, ‘मन्त्री बन्न शर्त राखौँ। स्थायी कमिटी सदस्य, टन्न पैसा भएको, दुई पटक मन्त्री भएको, पार्टी फेरबदल गरेको हुनुपर्ने, नेतृत्वलाई घुर्की दिइरहने, गुटमा आवद्ध हुनुपर्ने, भरसक पति पति नभए पत्नी, नेताका अगाडि घुमिरहने, भ्रष्टाचार र कमिसनका सबै दुला थाहा भएको क्षमता भएको माननीयलाई मन्त्री बनाऔँ।’
उनले मन्त्रीका लागि सदनमा आइरहनुपर्ने प्रावधानसमेत राख्न माग गरे। त्यसो गर्दा मन्त्रीलाई सजिलो हुने भन्दै उनले व्यङ्ग्य गरेका हुन्।