काठमाडाैं । तालिबानका लडाकुले अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा देशको पहिलो प्रान्तीय राजधानी कब्जामा लिएको छ । अफगानिस्तान सरकारका अधिकारीले बीबीसीसँग यस कुराको पुष्टि गरेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।
पछिल्लो हप्ता विदेशी सेना फिर्ता हुनासाथ तालिबानी लडाकु निकै आक्रामक देखिएका छन् । तालिबानी लडाकुले अफगानिस्तानका कैयौं सीमावर्ती चौकीदेखि एउटा ठूलो क्षेत्रफल कब्जा गरेका छन् ।
तर अहिलेसम्म कुनै प्रान्तको राजधानी कब्जामा लिएको थिएन । तर शुक्रबार तालिबानी लडाकुले जरन्ज कब्जामा लिएका हुन् ।
साथै, पश्चिमकाे हेरात र दक्षिणकाे लश्कर गाहमा उनीहरुकाे संघर्ष जारी रहेकाे छ । इरानकाे सीमा नजिक रहेकाे जरंज व्यापारिक केन्द्र हाे । आसपासकाे अन्य जिल्ला कब्जा गरिसकेपछि तालिबान लडाकुहरु जरन्ज कब्जामा लिनका लागि निरन्तर प्रयास गरिरहेका थिए ।
निमराेज पुलिसकाे एक प्रवक्ताले पनि राेयटर्स न्यूज एजेन्सीसँग तालिबान लडाकु याे शहर कब्जा गर्न सफल भएकाे बताएका छन् । उनले सरकारकाे तर्फबाट सहयाेगकाे कमी भएकाे पनि बताएका छन् ।