काठमाडौं । यसअघि नेपालको दशरथ रंगशालामा खेलिने तय भएको एएफसी महिला एसियन कप छनोट खेल अब नेपालमा नहुने भएको छ । नेपालमा कोरोनाको संक्रमण बढेका कारण सन् २०२२ को एसियन कप छनोट खेल उज्वेकिस्तानमा सरेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले समूह एफको छनोट खेल नेपालमा नगरी उज्वेकिस्तानमा गर्ने जनाएको छ । समूह एफमा नेपाल, हङकङ र फिलिपिन्स छन् । छनोट खेल भदौ २८ देखि असोज ९ गतेसम्म हुनेछ ।
एसिया कप छनोट खेलका लागि नेपालले बन्द प्रशिक्षण र तयारी गरिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४५ खेलाडीलाई प्रशिक्षणमा राखेको छ । खेलाडीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिईरहेका छन् । एएफसी महिला एसियन कप सन् २०२२ जनवरी २० देखि भारतमा आयोजना हुँदैछ ।