एजेन्सी । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले श्रृंखलाबद्ध रुपमा एक पछि अर्को प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिन थालेसँगै दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई पनि आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको छ।
अन्तर्राष्ट्रिय रेडक्रसलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ।
बढ्दो हिंसालाई मध्यनजर गर्दै त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई पनि बुधबार अफगान सरकारले बर्खास्त गरेको छ। उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए।
अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरुले अफगानिस्तानमा आफ्ना गतिविधिहरुलाई तीव्रता दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका थिए।
तालिबान लडाकूहरुले नियन्त्रणमा लिएका क्षेत्रहरुमा तालिबान लडाकू र अफगानी सुरक्षाकर्मीका बीचमा सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।