एजेन्सी । अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूले नियन्त्रणमा लिएको छ । तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन् ।
जसमा उक्त देशको दोस्रो ठूलो सहर कान्दहार सहित अन्य केही महत्त्वपूर्ण केन्द्रहरू समेत समावेश छन्। कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले समेत महत्वपूर्ण क्षेत्र हो ।
पछिल्लो पटक तालिबान लडाकूको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन् ।
लडाकूले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन् ।
पछिल्लो समय अफगानिस्तानमा सङ्घर्षरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन् । उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन् ।
तालिबान लडाकु समूह हाल काबुल नजिक पुगेको बताइएको छ। अमेरिकाले काबुल प्रान्त प्रवेश गर्ने क्षेत्रमा तालिबान लक्षित हवाई हमला गरेको विवरणहरू आइरहेका छन्।
अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ ।
उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् ।
संयुक्त राष्ट्रसङ्घलगायतका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियान प्रति चासो र चिन्ता व्यक्त गरेका छन् ।
अफगानिस्तानका राहतकर्मीले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ ।