काठमाडौं । गत बैशाखमा मात्र बाहिरिएको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हस्पिटालिटी ब्राण्ड ‘इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप’ (आईएचजी) पुनः नेपाल प्रवेश गरेको छ ।
आईएचजीले एपीए प्राइभेट लिमिटेडले निर्माण गरिरहेको चार तारे होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ को व्यवस्थापना हेर्ने गरी पुनः नेपाल प्रवेश गरेको हो ।
यसअघि आईएचजीअन्तर्गतको ब्रान्ड ‘क्राउन प्लाजा’ले नेपालको पुरानो पाँचतारे होटल सोल्टीमा व्यवस्थापन सम्हालेको थियो । आईएचजी सोल्टीबाट गत वैशाखमा मात्र बाहिरिएको थियो ।
होलिडे इन एक्सप्रेस एन्ड सुइट्सलाई लामो समय जापानमा व्यवसाय गर्दै आएका चिरन्जीवि थापाले निर्माण गरिरहेका छन् । उनी होटल एपीए प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । थापाले जापानमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।
काठमाडौंको रविभवनमा रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) को हाता भित्र रहेको ८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको सो होटल सन् २०२२ भित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको अध्यक्ष थापाले बताए ।
जग्गा बाहेक ७० करोड रुपैयाँ लगानीमा बनिरहेको सो होटलमा ११० वटा कोठा मध्ये एउटा प्रेसिण्डेटल र १२ वटा सुइट्स रुम रहने छ । होटलमा स्वीमिङ पुलसहित स्पा, स्पोर्टस् सेन्टर रहने छ ।