काठमाडौं। एमजोन प्राइममा नेपाली फिल्मले अवसर पाउनु गौरवको विषय हो। कोरोना महामारीले चलचित्र क्षेत्र थलिएका बेला चलचित्र डिजिटल प्ल्याटफर्ममार्फत दर्शक सामु पुग्ने विकल्प प्रशस्त छन्। तर एमजोन जस्तो विश्वकै चर्चित र विश्वसनिय माध्यम मार्फत नेपाली फिल्म ‘एटीन’ले संसारभरका दर्शक सामु पुग्ने अवसर पाएको छ।
सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत पुगेर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ।
बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटीन’ एमजोनमा अटाउन पाउँदा निकै खुशी लागेको फिल्मका निर्देशक तथा निर्माता प्रेम लामाले बताए।
तारादेवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा प्रसुना कंडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायतीहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय देख्न सकिन्छ।
चलचित्र ‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल.एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको रहेको छ।
प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको ‘एटीन’अघि निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीन वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन्।