तस्बिर: रोयटर्स
एजेन्सी । सामुन्द्रिक आँधी आइडाले निम्त्याएको खराब मौसमका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
आँधीपछि न्यूयोर्कमा पछिल्लो ९० वर्षयताकै विशाल मात्रामा वर्षा भएको र न्यूजर्सीमा आँधीले कैयौँ घरहरूलाई तहस नहस बनाएको बीबीसीमा उल्लेख छ । आँधी पछि आँधीबेरी र बाढीका कारण मेरिल्याण्डदेखि न्यूयोर्कसम्म ४२ जनाले ज्यान गुमाएको अलजाजिराले उल्लेख गरेको छ ।
न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन्। त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए।
न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको छ। त्यसमा एकजना दुई वर्षका बालक पनि छन्। मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए। पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ।
मौसम विज्ञहरुको पूर्वानुमान गलत सावित भएको भन्दै न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले आलोचना गरेका छन् । समुद्री आँधीको आवृत्ति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्नेबारे अझै स्पष्ट भएको छैन ।