एजेन्सी । अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ ।
आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ ।
घोर प्रान्तको राजधानी फिरोजकोहमा बानू नेगर नामक महिला प्रहरीलाई उनको परिवारकै अगाडि तालिबान लडाकूले हत्या गरेको खबर बीबीसीले दिएको हाे । तर तालिबानले नेगरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।
प्रवक्ता जबीउल्लाह मुजाहिदले घटनाको बारेमा जानकारी रहेको तर तालिबानले नेगरलाई नमारेको बताए । तालिबानले पुरानो प्रशासनमा काम गर्ने मानिसका लागि माफीको घोषणा गरेको र नेगरको हत्या व्यक्तिगत रिसइबीका कारण भएको हुन सक्ने बताएकाे छ ।
स्थानीय कारागारमा काम गर्ने नेगर आठ महिनाको गर्भवती भएको बताइएको छ । शनिबार तीनजना बन्दूकधारी उनको घर पुगेको र नेगरको हत्या गरेको समाचारमा उल्लेख छ । उनीहरूले अरबी भाषा बोलेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।