काठमाडौं । राजधानीको सेतोपूलस्थित मातृका आँखा सेन्टरमा अज्ञात समुहले ‘होक्स’ बम राखेको पाईएको छ। तर्साउनका लागि टाईमर बम जस्तो देखिने बस्तु देखेपछि सेन्टरका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेर अवलोकन गरेपछि डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार तर्साउने उद्देश्यले नक्कली बम बनाएर राखेको बताए। उनले भने,‘ सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गरिसक्यो। कस्ले राख्यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।’ प्रहरीले आँखा सेन्टरको व्यवस्थापन पक्षसमेत सोधपुछ गरेको थियो। बमको खबर सुनेर केही बेर वरपरका सर्वसाधरण त्रसित बनेका थिए। प्रहरी र सेनाको टोलीले नजिकका सर्वसाधरण र सेन्टरका कर्मचारीलाई खाली गराएर बम डिस्पोज गरेको थियो।