काठमाडौं । गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीत निकै चर्चित थियो । मधु क्षेत्रीले गाएको सो गीतले बजार मात्र पिटेन कोरोना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताको पीडा पनि बोलेको थियो । सोही कारण गीतले निकै चर्चा बटुल्यो । गायिका मधु यही गीतबाट रातारात हिट बनिन् ।
गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर तथा नेत्र अर्यालको शब्द सिर्जना छ । संगीत भने गायक खेम सेन्चुरीकै छ । गीत युट्यबुमा एक करोड ७६ लाखभन्दा बढी पटक हेरिएको छ ।
यसपालिको तीजमा भने चरी जेलैमाले दर्शकको मन जितेको छ ।
हिन्दु नारीहरूले बिहीबार हरितालिका तीज पर्व धूमधामका साथ मनाइरहेका छन् । निराहार व्रत बसेर शिवालयमा पूजाअर्चनासहित उनीहरू व्रत बसिरहेका छन् । खाली पेटमा रहेका उनीहरू विभिन्न गीत संगीतमा नाचगान पनि गरिरहेका छन् । तर, अधिकांश स्थानमा भने गायिका विष्णु माझीको स्वर रहेको ‘चरी जेलैमा’ गीत बज्ने गरेको छ ।
तीज गीतको रूपमा तीन साताअघि सार्वजनिक चरी जेलैमा’ अहिले हरेकको जनजिब्रोमा झुन्डिएको छ । बिहीबार तीजका अवसरमा यही गीत बढी प्रयोगमा आएको छ । नारीको वेदनामाथि तयार पारिएका कारण पनि चरी जेलैमाले दर्शक र स्रोताको मन जितेको छ ।
सो गीत युट्युबमा एक करोड ७८ लाखभन्दा बढी पटक हेरिएको छ । विष्णु माझीको स्वर रहेको उक्तमा सुन्दरमणि अधिकारीको शब्द सृजना र संगीत रहेको छ । सुन्दरमणि र विष्णु माझी श्रीमान् श्रीमती हुन् ।