एजेन्सी । फिफा विश्वकप छनोट खेलका कारण एक साता विश्राम लिएको स्पेनिस ला लिगाको चौथो राउन्डका खेलहरु शनिबारदेखि सुरु हुँदैछ ।
नेपाली समय अनुसार शनिबार राति १२ः४५ बजे हुने खेलमा मालोर्का र एथलेटिक बिल्बाओ भिड्नेछन् । यसअघि राति १०ः१५ बजे सुरु हुने पहिलो खेलमा लिभान्ते र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल लिभान्तेको घरेलु मैदान हुनेछ ।
बिल्बाओको घरेलु मैदानमा हुने खेलमा मालोर्का आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनामा छ । पहिलो राउन्डमा रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएको मालोर्काले दोस्रो र तेस्रो राउन्डमा जित निकालेको थियो । मालोर्काले दोस्रो राउन्डमा डिर्पोटिभो अलाभेसलाई र तेस्रोमा स्पान्योललाई समान १–० गोलले हराएको थियो ।
जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मालोर्काले तीन खेलबाट सात अंक बनाएको छ । मालर्कोकासँगै शीर्षस्थानमा रहेको रियल म्याड्रिड, दोस्रो स्थानमा रहेको सेभिया, तेस्रो स्थानमा रहेको भ्यालेन्सिया, चौथो स्थानमा रहेको बार्सिलोना र पाँचौं स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडको समान सात नै अंक छ । सुरुवाती प्रदर्शन र नतिजालाई आधार मान्ने हो भने यसपालीको उपाधि भिडन्त यीनै टोलीबीच हुने पक्का छ ।
यता दुई बराबरी र एक नतिजा निकालेको बिल्बाओ घरेलु मैदानमा मालोर्कालाई कडा टक्कर दिने दाउमा छ । बिल्बाओ पहिलो राउन्डमा इल्चेसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो राउन्डमा पनि बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको बिल्बाआले तेस्रो राउन्डमा सेल्टा भिगोलाई १–० गोलले हराएको थियो । तीन खेलबाट पाँच अंक बनाएको बिल्बाओ अहिले नवौं स्थानमा छ ।
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइनेछ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।
त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नु पर्नेछ । हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।