एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चौथो चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुँदैछ । लिगमा शनिबार राति विभिन्न आठ खेलहरु हुँदैछन् ।
लिगमा साविक विजेता म्यानचेस्टर सिटी, टोट्टनहाम, म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल, वेस्टहाम युनाइटेड लगायत शीर्ष क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
म्यानचेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । सिटी र लेस्टरबीचको खेल राति ७ः४५ बजे हुनेछ । यसैगरी अर्को खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा न्युक्यासल युनाईटेडको सामना गर्नेछ ।
यस खेलमा म्यानचेस्टर युनाइटेडले पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई समेत खेलाउने सम्भावना छ । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डो न्युकासलविरुद्ध खेल्न टिममा तयारी समेत गरेका छन् । ३६ बर्षीय रोनाल्डो हालै इटालियन सिरि ‘ए’ क्लब युभेनट्स छाडेर युनाइटेड आएका हुन् ।
अर्को खेलमा शीर्षटोली टोट्टनहामले क्रिस्टल प्यालेसको मैदानमा खेल्नेछ । चेल्सीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ । यी टोलीको खेल राति १०ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा हुने अर्को खेलमा आर्सनलले नर्विच सिटीसँग, वाट्फोर्डले वल्भ्ससँग ब्रेन्टफोर्डले ब्राइटन र साउथह्याम्पटनले वेस्ट हाम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
लिगमा तीन चरणको समाप्तिपछि शीर्षस्थाननमा रहेको टोट्टनहामको नौ अंक छ । म्यानचेस्टर युनाइटेड, वेस्टहाम, चेल्सी, लिभरपुल र एभर्टनको पनि समान सात अंक छ । म्यानचेस्टर सिटीले ६ अंक बनाएको छ ।