काठमाडौं । अन्तर्राष्ट्रिय नतिजा र उपलब्धिका हिसाबले नेपाली क्रिकेटले लोकप्रियताको शिखर चुमेको छ । फुटबललाई छाड्ने हो भने आर्थिक हिसाबले नेपाली क्रिकेट बलियो देखिन्छ ।
तर, नेपाल क्रिकेट संघ (क्यान) भित्रको सदावहार शीतयुद्ध र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन नगरेका कारण क्रिकेटले आर्थिक रुपमा सोचेजस्तो फड्को मार्न नसकेको सरोकारवाला बताउँछन् ।
नेपाली क्रिकेटलाई आर्थिक रुपले चलाउने मुख्य आधार भनेको अन्तर्राष्ट्रिय सहयोग भएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए । ‘क्यान चल्ने आईसीसी र एसियाली क्रिकेट काउन्सिल (एसीसी) को अनुदानमा हो । नेपाल सरकारले सोचेजस्तो सहयोग गरिरहेको छैन । आईसीसीले दुई वर्षअघि क्यानको निलम्बन फुकुवा गरेपनि नेपाली क्रिकेटलाई आर्थिक र अन्य रुपले हेर्ने दृष्टिकोणमा अझै संकोच राखेको अवस्था छ । ब्यवहारमा क्यान अझै निलम्बन जस्तै छ । आईसीसीले हस्तक्षेप भन्दा सहयोग रकमबाट कार्यक्रम भए नभएको निगरानी गर्दा राम्रो हुन्थ्यो,’ सिंहले भने ।
सिंहका अनुसार आईसीसीले नेपाललाई बार्षिक सात लाख ४८ हजार अमेरिकी डलर (८ करोड ७५ लाख १६ हजार रुपैयाँ ) सहयोग उपलब्ध गराउँदै आएको छ । यसका लागि क्यानले आईसीसीको ‘गाइड लाइन’का आधारमा तीन तीन महिनामा ब्यवस्थापकीय खर्च गर्नुपर्ने प्रावधान छ ।
क्यानले आईसीसीकै निर्देशनमा हरेक तीन महिनामा खेलाडीको तलव, प्रतियोगिता, खेलाडीको तयारी, कर्मचारीको तलब भत्ता, प्रशिक्षक र रेफ्रीको तलब भत्ता र प्रशिक्षण, खेलाडीको म्याच भत्ता, कार्यलय सञ्चालन लगायत विषयमा खर्च गरिरहेको सिंहले बताए । यसअघि क्यान निलम्बन भएको बेलामा आईसीसीबाट नेपाललाई वार्षिक करिव १० लाख अमेरिकी डलर (११ करोड ७० लाख रुपैयाँ) सहयोेग हुँदै आएको थियो ।
पहिला नेपाललाई एसीसीबाट पनि बार्षिक दुई देखि तीन लाख अमेरिकी डलर सहयोग उपलब्ध हुन्थ्यो । नयाँ क्यान आएपछि एसीसीले नेपाललाई कुनै अनुदान दिएको छैन ।
एसीसीले नेपालमा विदेशी प्रशिक्षकको लागि वार्षिक ४० देखि ५० हजार अमेरिकी डलर, महिला क्रिकेटको विकासमा लागि १० देखि १५ हजार डलर सहयोग गर्दै आएको थियो । अहिले एसीसीले आईसीसीकै गाइडमा काम गर्ने हुनाले नेपाललाई एसीसीबाट सहयोग भएको छैन ।
आईसीसीले नेपाललाई गर्ने सहयोगमा ‘स्कोर कार्ड ग्राम’ र प्रदर्शनका आधारमा फरक हुने क्यानका एक पदाधिकारीले बताए । उनका अनुसार नेपाल डिभिजन एकमा प्रवेश गरेको बेला आईसीसीले नेपाललाई ‘हाई प्रफमेन्स’का आधारमा छुट्टै सहयोग गरेको थियो ।
क्यान निलम्बन फुकुवा गरिएको भनिए पनि आईसीसीको ब्यवहारमा त्यस्तो परिवर्तन नदेखिएको पनि ती पदाधिकारी बताउँछन् । उनी भन्छन्, ‘क्यानको नयाँ कार्यसमितिलाई आईसीसीले अझै विश्वास गरिरहेको छैन । सहयोग, अनुदान र बार्षिक कार्यक्रम हेर्दा निलम्बनको समयमा जति देखिन्न । पछिल्लो समय कोरोना महामारीले गर्दा क्यानले पनि सोचेजस्तो गतिविधि गर्न सकिरहेको छैन । क्यान आर्थिक रुपले आत्मनिर्भर भइसकेको अवस्था छैन ।’
क्रिकेटमा सरकारको अनुदान
नेपालमा क्रिकेट खेल सरकारको प्राथमिकतामा रहेको खेल हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसलाई ‘ए’ श्रेणीमा राखेको छ । सोही अनुसार सरकारले अनुदान सहयोग पनि गर्दै आएको छ ।
क्रिकेट खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता, उपलब्धि र खेलाडीको सम्मान र क्रिकेटको भौतिक संरचना निर्माणमा सरकारको लगानी ठूलो देखिन्छ । क्यानका अनुसार सरकारले क्रिकेट खेलमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिताका लागि वार्षिक ४० लाख र महिलाका लागि २५ लाख रुपैयाँ दिने गर्दछ ।
यसअघि क्यान निलम्बनमा पर्दा सरकारले विदेशी प्रशिक्षकको लागि वार्षिक एक करोड रुपैयाँ अनुदान सहयोग दिएको थियो । नयाँ क्यान आएपछि विदेशी प्रशिक्षकको तलब भत्ता क्यान आफैले बेहोरेको छ ।
सरकारले पछिल्लो समय खेलाडीको पुरस्कारमा विभेध गरेको कोषाध्यक्ष सिंहले गुनेसो गरे । ‘राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि क्रिकेटलाई सोचेजस्तो सहयोग गरिरहेको छैन । फुटबलमा उही स्तरको खेल जितेका खेलाडीलाई जनही चार लाख पुरस्कार दिने सरकारले क्रिकेटमा उही स्तरको सिरिज जित्दा खेलाडीलाई रित्तो हात राखियो,’ सिंहले भने ।
निजी क्षेत्रको सहयोग
सरकार र अन्तर्राष्ट्रिय सहयोगसँगै क्रिकेट खेलमा निजी क्षेत्र र कर्पोरेट हाउसको प्रायोजन सहयोग पनि ठूलो छ । अहिले क्यानलाई राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि डिस होमले बार्षिक एक करोड पाँच लाख रकम प्रायोजन गरेको छ । यससँगै माई सेकेन्ड टिचरले ५६ लाख रुपैयाँ प्रायोजन गरेको छ । प्रतियोगिताको बेला विभिन्न कर्पोरेट हाउस र कम्पनीले पाँच देखि १० लाख रुपैयाँ सहयोग हुँदै आएको छ । प्रतियोगितामा प्रमोसनका लागि राखिने होडिङ बोर्डबाट पनि धेरथोर आर्थिक आम्दानी हुने कोषाध्यक्ष सिंहले बताए ।
उनले भने, ‘क्रिकेटमा काम गर्न सक्दा पा्रयोजन सहयोग राम्रै हुन्छ । अहिले कोरोना महामारीले निजीक्षेत्र क्रिकेटमा सहभागी हुन डराएको अवस्था छ । विस्तारै राम्रो हुने विश्वासमा छौं ।’ यसअघि क्यानलाई नेपाल टेलिकम, वाई वाई चाउचाउ, पेप्सी, स्ट्याण्डर्ड चाटर्ड बैंक लगायत संस्थाले ठूलो धनराशीको सहयोग गरेका थिए ।