एजेन्सी । स्पेनिस ला लिगाको सुरुवाती खेलमा सानदार नतिजा निकालेको मालोर्का चौथो राउन्डमा एथलेटिक बिल्बाओसँग स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा मालोर्का बिल्बाओसँग उसैको मैदानमा २–० गोलले पराजित भयो । जारी लिगमा मालोर्काको यो पहिलो हार हो ।
घरेलु मैदानमा मालोर्कालाई हराउन बिल्बाओका डानियल भिभिएन र इनाकी विलियम्सले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा डानियलले ६८औं मिनेटमा खाता खोले । उनले इकर मुनियनको पासमा हेड गोल गरेका थिए । ६ मिनेट लगत्यै इनाकीले इकरकै पासमा गोल गर्दै बिल्बाओको अग्रता दोब्बर बनाए ।
खेलमा ५२ प्रतिशत बल पोसेसन राखेपनि मालोर्काले गोल गर्न सकेन । सातवटा पोस्ट् प्रहारको मौका पाएको मालोर्का अन्तिममा गोलरहित हार खेप्न बाध्य बन्यो । यता ४८ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले १९ पटक पोस्ट् प्रहार गरेको थियो । दुइटै गोलका लागि सहयोग गरेका बिल्बाओका इकर मुनियन ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै बिल्बाओले लिगमा अपराजित यात्रा कायम राखेको छ । चार खेलमा दुई जित र दुई बराबरी खेलेको बिल्बाओले आठ अंक बनाएको छ । पहिलो हार खेपेको मालोर्काको सात अंक छ ।
शनिबार रातिनै भएको अर्को खेलमा लिभान्ते र रायो भालेकानोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा लिभान्ते सुरुवाती अग्रता लिएरपनि अन्तिममा अंक बाँड्न बाध्य बन्यो ।
३९औं मिनेटमा रोजरले पेनाल्टीमा गोल गर्दै लिभान्तेको उत्साह जगाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा रायो भालेकानोका सर्गी ग्वार्डीओलाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले बेबेको पासमा गोल गरेका थिए । सर्गी ‘म्यान अफ दी म्याच’ भए । बराबरीसँगै रायो भालेकानोले चार खेलबाट चार नै अंक बनाएको छ । लिभान्तेको समान खेलबाट तीन अंक पुगेको छ ।
लिगअन्तर्गत आइतबार साँझ एट्लेटिको म्याड्रिड र स्पान्योल तथा भ्यालेन्सिया र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ । आइतबार राति नै रियल म्याड्रिडले घरेलु मैदानमा सेल्टा भिगो र काडिजले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।