काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलस्ले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।
दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको सुरुवात देखिनै आक्रामक रुपमा प्रस्तुत भएपनि नेपालले गोल गर्न सकेन । नेपालको प्रयासमा बंगलादेशको रक्षापंक्ति हावी भएको थियो । नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी भईन् ।
नेपालले यसअघि बिहिबार भएको पहिलो खेलमा बंगलादेशलाई २–१ गोलले हराएको थियो । पहिलो खेलमा नेपालको जितमा सविता राना र प्रिती राईले गोल गरेका थिए । दुवै खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु सहितको गोल गरेका हुन् । नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट खेलको तयारीका लागि बंगलादेशसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो ।
एएफसी एसियन कप छनोट खेल अर्को साता उज्वेकिस्तानमा हुँदैछ । छनोट खेलमा नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोलीले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।