काठमाडौं । नेपाली कथानक चलचित्र टुल्कीको टिजर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको नयाँबानेश्वरमा ‘द पाल्म ग्रुप पालि’ले चलचित्रको टिजर सार्वजनिक गरेको हो । द पाल्म ग्रुप प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रमा मध्यपश्चिमको विकट जिल्ला डोल्पाका प्राकृतिक र पर्यटकीय क्षेत्रका दृश्यलाई प्राथमिकता दिइएको छ ।
९० लाख रुपैयाँ लगानीमा चार वर्षको अध्ययनपछि टिजर सार्वजनिक भएको निर्माता शेखर लामाले जानकारी दिए । चलचित्रमा नेपालका हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथालाई मुख्य विषयवस्तु बनाइएको छ ।
डोल्पाको तल्लो भागमा रहेको ब्राह्मणा बस्तीमा जन्मेकी टुल्की माया प्रेममा परेर माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाहमा परेपछि चलचित्रको कथा सुरु हुन्छ । विशेषगरी चलचित्र टुल्कीले भोग्नुपरेको समस्यामा आधारित रहेको छ । सँगैसँगै डोल्पाका पर्यटकीय र प्राकृतिक दृश्यलाई जस्ताको तस्तै उतार्नेकाम छायाकारले गरेका छन् ।
लामो अध्ययन र अनुसन्धानपछि बनेको चलचित्रमा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सेफिया लिम्बू, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय रहेको छ ।
सन्जीव लिम्बूले संगीत भरेको चलचित्रको सम्पादन तारा किम्भे थापाले गरेका हुन् । आरपी कर्माचार्य र शेखर लामाको संयुक्त लगानीमा निर्माण भएको छलचित्रको छायांकन र निर्देशनमा देवजंग थापाले मिहेनत गरेका छन् ।