काठमाडौं । छैटौं एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि शुरु हुने भएको छ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै महिला र पुरुष दुवै तर्फको च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जानकारी दिएको हो ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टोलीको सहभागिता रहने संघले जनाएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ७ र महिलामा ५ टोली २०७८ चैतमा आयोजना हुने छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगमा छनोट हुनेछन् ।
च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबफ क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ न्यूडायमण्ड क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
संघले यसपटक पस्कार राशीमा समेत वृद्धि गरेको छ ।प्रतियोगिताको विजेताले ४ लाख, उपविजेतनले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् । यसैगरी उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही २५ हजार उत्कृष्ट सर्भर, लिवेरो, ब्लकर, स्पाईकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपका लागि करिब ३८ देखि ४० लाख सम्म खर्च हुने संघले जनाएको छ ।