काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सहित आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो । एकदिवसीय क्रिकेटमा नेपालले ओमानलाई हराएको यो पहिलो पटक हो ।
एकसय २२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कप्तान मल्लले कीर्तिमानी अर्धशतक पूरा गरे । उनले अविजित ५२ रन बनाए । मल्लले नेपालका लागि एकदिवसीयमा चौथो अर्धशत प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।
उनले ४६ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त बनाएका थिए । ओपनर आसिफ शेखले ४० रन बनाए । ओपनर कुशल भुर्तेल र रोहित पौडेलले समान ६-६ रन बनाएका थिए । शरद भेषवाकर एक रनमा अविजित रहे । ओमानका नेस्टर धाम्बाले दुई तथा कालिमउल्लाहले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रनमा समेटिएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए ।
जतिन्दर सिंहले १३ र नसिम खुसी १२ रन बनाएका थिए । कालिम उल्लाहले अविजित ११ र रहदा बिलाल खानले नौ रन बनाए । सन्दीप गौडले आठ, आयन खानले सात र सुफ्यान मेहमुद र मोहमद नदीमले समान चारचार रन बनाए । सुरज कुमार र नेस्टर धाम्बा शुन्य रनमा आउट भए ।
ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसी र लेग स्पिनर सन्दीप लामिछानेले चार चार विकेट लिए । शरद भेषवाकरले दुई विकेट झारेका थिए । नेपालले यस जितसँगै ओमानसँग बदला समेत लिएको छ । अघिल्लो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो ।
सुखद अन्त्य गरेको नेपालले सिरिजका चार खेलमा दुई जित र दुई हार खेप्यो । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
जितसँगै नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ । आठ खेलमा चार जित र चार हार खेपेको नेपालले आठ अंक बनाएको छ । ओमान १३ खेलमा १० मा जित र तीन हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ ।
अमेरिका १५ खेलमा सात जित र आठ हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चार जित र तीन हार सहित नौ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
यसैगरी नामिबिया सात खेलमा चार जित र तीन हार सहित आठ अंक सहित नेटरन रेटको आधारमा पाँचौं स्थानमा । युएई सात खेलमा समान तीन जित र तीन मा हार सहित सात अंकका साथ छैटौं स्थानमा छ । एक खेल रद्ध भएको थियो । आठ खेलमा सबै हार खेपेको पपुवा न्युगिनी (पीएनजी) बन्दै अन्तिममा छ ।