एजेन्सी । चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले टोट्टनहामलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
चेल्सीलाई जिताउन थियागो सिल्भा, एङगोलो कान्टे र एन्टेनियो रुडिगरले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा थियागोले ४९औं, कान्टेले ५७औं र रुडिगरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै शीर्षस्थानमा रहेको चेल्सीले पाँच खेलबाट १३ अंक बनाएको छ । १३ अंक बनाएको लिभरपुल र म्यानचेस्टर युनाइटेड गोल अन्तरमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार खेपेको टोट्टनहाम नौ अंक सहित सातौ स्थानमा छ ।
आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट हाम युनाइटेडलाई २–१ गोलले हरायो । युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले ३५औं र जेसे लिङगार्डले ८९औं मिनेटमा गोल गरे । यसअघि घरेलु टोली वेस्ट हामका सईद बेनराहमाले ३०औं मिनेटमा सुरुवाती गोल गरेका थिए । अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई २–१ गोलले स्तब्ध बनायो ।