नयाँदिल्ली । भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताए ।
आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर गोली चलाएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।
प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो ।
गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ । उनकोसञ्जालमा ५० भन्दा बढी व्यक्ति रहेका र उनीहरूले मानिसहरूलाई धम्क्याउने, चन्दा सङ्कलन गर्ने र आतङ्कित पार्नेजस्ता अवाञ्छित क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ छ ।