एजेन्सी । अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरण आरोपमा चार जनालाई हत्या गरेर सार्वजनिक स्थानमा झुन्ड्याइदिएको खबर बाहिरिएको छ ।
एक तालिबान नेताले पहिलाको जस्तै सजाय दिने व्यवस्था फेरि आउन सक्ने बताएको भोलिपल्ट पश्चिम सहर हेरातको मुख्य चोकमा क्रेनमा झुन्ड्याइएको शव राखिएको बीबीसीमा उल्लेख छ ।
एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एक भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्।
हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन्।
सन् १९९६ देखि २००१ सम्म शासन गर्दा तालिबान अपराध गर्ने मानिसलाई सार्वजनिक रूपमा ढुंगाले हानेर मार्ने र हात-खुट्टा काटिदिने जस्ता दण्ड दिने गर्थे।