logo

२०८१ पुष १९ शुक्रबार

logo
  • शुक्रबार, १९ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    रहस्यमय सापु ! बालबालिका उच्च जोखिममा

    रहस्यमय सापु ! बालबालिका उच्च जोखिममा

    2K
    Shares

    नेपालको विशेषगरी मध्यपहाडी क्षेत्रमा अहिले सेतो पुतली ‘सापु’ ले आतंक मच्चाएको छ । साँझ पर्न लाग्दा घरको भित्तादेखि सडकको भित्तासम्म सेतो पुतलीको झुसले सबैलाई हैरान बनाइरहेको छ । 

    हाल बागलुङ जिल्लाका मात्र ८ जनाको आँखामा सेतो पुतलीको झुस परिसकेको छ । जसमध्ये दुई जनालाई निको भैसकेको छ । ६ जना पोखराको हिमालय आँखा अस्पतालमा उपचाररत छन् । 

    गत भदौको पहिलो हप्तादेखि सापुले साबिक धौलागिरीका तीन जिल्ला बागलुङ, पर्वत र म्याग्दी र प्रदेश राजधानी लगायतका गाउँबासीलाई निकै समस्या दिइरहेको छ । सापु रोगबाट विषेशगरी बालबालिका उच्च जोखिममा रहेका छन् । 

    सापु एउटा आँखामा मात्र देखिने रोग हो । सापु दुबै आँखामा देखिएको बिरामी अझैसम्म फेला नपरेको चिकित्सकहरुको भनाइ छ । सापु सम्बन्धित अझ रोचक तथ्य के छ भने, सापु बिजोड वर्ष मात्र देखिने गरेको छ । 

    यसअघि सापु २०१९ सालमा देखिएको थियो । नेपालको पनि गण्डकी प्रदेशमा मात्र यो रोग मुख्य रुपमा देखिएको छ । बिजोड वर्षमा मात्र देखिने यो रोग नेपालको मध्यपहाडी क्षेत्रमा मात्र दुई वर्षको अन्तरालमा किन देखिन्छ र यसले एउटा आँखामा मात्र आक्रमण गर्छ खोजको विषय रहेको सफल चस्मा पसल तथा आँखा क्लिनिकका सञ्चालक तथा नेत्र सहायक गणेश महतोले बताए ।

    उनले भने, ‘यो रोग निकै रहस्यमय छ, सन् १९७५ बाट सुरु भएको यो रोग नेपालमा मात्र पाइएको छ, नेपालको पनि विषेश गरी मध्यपहाडी क्षेत्रमा मात्र पाइएको छ । अझ रोचक विषय के छ भने यो रोग बिजोर बर्षको अगस्ट र सेप्टेम्बर महिनामा मात्र देखिन्छ ।’ 

    महतोका अनुसार सापुले एउटा आँखामा मात्र समस्या देखाउँछ । यो सबै अध्ययनका विषयहरु हुन् । किन यो ठाउँमा मात्र देखिन्छ, किन बिजोर वर्षमा मात्र यो रोग देखिन्छ, यी सबै विषयमा अध्ययन गर्न जरुरी छ । 

    अहिले सापु सम्बन्धित लक्षण देखा परेका बिरामीहरु आँखा जाँच गर्नका लागि आउने गरेको पनि महतोले बताए । आँखा चिलाउने, घाममा हेर्न समस्या भएमा तुरुन्त आँखा सम्बन्धित विशेषज्ञलाई सम्पर्क गर्नुपर्ने उनको सुझाव छ । 

    ‘यो अन्य रोग जस्तो भोलि अस्पताल जानु पर्ला, पर्सी अस्पताल जानु पर्ला भनेर बस्ने खालको रोग हैन । रोग लागेका २४ घन्टा भित्रै आँखाको ज्योति गुम्ने खतरा पनि हुन सक्छ । सापुको झुस आँखामा परेको केही घन्टामै रातो हुने र आँखा झ्याप्पै बन्द हुन्छ । आँखाको कालो नानी पनि सेतो हुने र आँखाकोे नानीमा पनि पिप भरिन सुरु गरिहाल्छ’, महतोले भने । 

    आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका कारण आँखा सुक्खा हुने र उपचार पनि जटिल हुने गरेको छ । बागलुङ, पर्वत र कास्कीमा समेत सेतो पुतलीको संख्या बढ्दै गएको पाइएको छ । साँझ बत्ती बाल्ने समयमा प्रायः यो पुतली देखिने गर्छ । 
    अहिलेको सिएफएल बल्बको वरिपरि पुतली घुम्ने गर्दछ । पुराना प्रकृतिका बल्बमा भने पुतली नघुम्ने भएकाले यो समयमा सिएफएल बल्बको सट्टा पुरानो प्रकृतिको बल्ब जडान गुर्न उचित हुने नेत्र संयोजक महतो बताउँछन् । बिहान सुरु हुने बित्तिकै पुतलीको झुण्ड हराउने गरेको स्थानीयहरुको भनाइ छ । 

    जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख सुरज गुरौंका अनुसार यो रोग विशेष गरी बालबालिकामा देखिने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार सबै उमेरका व्यक्तिहरुलाई देखिने गरेको भए पनि बालबालिकाले पुतली खेलाउने गर्नाले बालबालिकामा बढी देखिएको छ ।

    ‘सापुले विषेश गरी बालबालिकालाई प्रभाव पारेको छ । बालबालिकामा जे देखे पनि खेलाउने बानी हुन्छ । पुतलीसँगै खेल्ने गर्छन् । यसो गर्दा पुतलीको झुुस आँखामा पर्ने सम्भावना पनि धेरै हुन्छ ।’  सुरज भन्छन्, ‘तर यस्को मतलब बालबालिकामा मात्र हुन्छ भन्ने होइन । सबै उमेरका मानिसहरुमा हुन सक्छ । पुतलीले कतै झुस छोडेको छ भने कुनै कारणबाट आँखामा पर्यो भने पनि यो रोग लाग्न सक्छ ।’

    सापुको झुसबाट बच्नको लागि सेतो पुतली भएको ठाउँमा नजाने, अनावश्यक बत्ती नबाल्ने, पुतलीको झुस छोएको शंका लागेमा साबुन पानीले हात धुने तथा आँखामै झुस परेको शंका लागेमा १० मिनेटसम्म पानीले आँखा छ्यापेर तुरुन्त आँखा चिकित्सकलाई सम्पर्क गर्न समेत विज्ञले सुझाव दिएका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend