काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा फराकिलो अन्तरले पराजित भएको छ ।
कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७–२ गोलले पराजित भएको हो । ओमानको जितमा अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे । फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरेका थिए । नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए ।
माल्दिभ्समा असोज १५ गतेदेखि सुरु हुने साफ च्याम्पियनसिपमा सहभागीता जनाउन नेपाली टोली सोमबार कतारबाटै माल्दिभ्स प्रस्थान गर्नेछ । नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबारमात्र साफ खेल्ने २३ सदस्यीय खेलाडी घोषणा गरिसकेका छन् । लामो समयदेखि तयारी गरेको नेपालले १३औं संस्करणको साफ जित्ने लक्ष्य राखेको छ ।
नेपाल साफमा अहिलेसम्म सेमिफाइनल माथि जान सकेको छैन । असोज ३० गतेस्म चल्ने साफका यसपटक पाँच टोलीको सहभागिता रहेको छ । साफमा नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।