काठमाडौं । भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
यसअघि सीपीआईबाट बिहारकाे बेगुसरायमा लोकसभा चुनाव लडेका कन्हैया मंगलबार आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । केही समय अघिमात्र कन्हैया कुमारले कांग्रेस पार्टीका नेता राहुल गान्धीसँग भेटवार्ता गरेका थिए ।
युवा नेता कन्हैया कुमार धारा प्रवाह भाषण गर्ने युवा नेताको रुपमा चिनिन्छन् । २०१९ को लोकसभा निर्वाचनमा बिहारको बेगुसरायमा भारतीय जनता पार्टीका नेता गिरिराज सिंहसँग कन्हैया पराजित भएका थिए ।
कन्हैयासँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् । लोकसभा निर्वाचनमा जिग्नेश मेवाणीले पनि बिहारमा कन्हैया कुमारको समर्थनमा प्रचार गरेका थिए । उनीहरुकाे प्रवेशलाई बिहारमा कंग्रेसलाई पुनर्जीवन दिने पार्टी नेतृत्वको रणनीतिका रुपमा समेत हेरिएको छ ।