काठमाडौं । बागमती प्रदेश खेलकुद परिषद्ले सञ्चालन गरेको एथलेटिक्स खेलकाे प्रशिक्षक तालिम सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज ९ देखि सञ्चालित तालिम बिहिबार सम्पन्न भएको छ । प्रशिक्षकलाई पनि सवल र समय सापेक्षित बनाउन बागमती प्रदेश खेलकुद परिषदले तालिम आयोजना गरेको हो । प्रशिक्षक तालिम संचालनका लागि परिषद्ले यसअघि चार राष्ट्रिय खेल संघसँग सम्झौता गरेको थियो ।
परिषद्ले नेपाल ब्याडमिन्टन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल रग्बी संघ र नेपाल आइटिएफ तेक्वान्दो संघसँग सम्झौता गरेको थियो । बागमती खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले एथलेटिक्सको प्रशिक्षक तालिमको एक कार्यक्रमबीच समापन गरे । उनले अन्य खेलमा पनि क्रमिक रुपमा प्रशिक्षक तालिम सञ्चालन गर्दै जाने बताए ।
सम्झौता अनुसार आइटिएफ तेक्वान्दोको तालिम १६ र १७ असोजमा रामेछापमा हुनेछ । रग्बीको १९ र २० असोजमा चितवनमा तथा ५ र ६ कात्तिकमा ब्याडमिन्टनको राखेप कभर्डहलमा हुनेछ। तालिम सञ्चालनको लागि बागमतीले २० लाख रुपैयाँ बजेट छुट्टाएको जानकारी पनि सदस्यसचिव भण्डारीले दिए ।