काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरको छ ।
कीर्तिपुर स्थित टियु मैदानमा बुधबार भएको खेलमा चितवनले पोखरा राइनोजलाई नौ विकेटले हरायो । चितवन पहिलो पटक इपीएलको फाइनलमा पुगेको हो ।
पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । चितवनको जितमा स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरे । मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा सात चौका र दुई छक्का हानेका थिए ।
हसिम अन्सारीले अविजित १४ रन बनाए । बलिङमा पोखराका नन्दन यादवले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा सवै विकेटको क्षतिमा अलआउट हुँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाए ।
पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले चार चार विकेट झारेका थिए । सोमपाल कामी र करिम जनतले एक एक विकेट लिए । अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ ।
दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ । बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।