काठमाडौं । भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले चौथो एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको उपाधि जितेको छ । चितवन पहिलो पटक इपीएल च्याम्पियन बनेको हो ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले हरायो । उपाधिसँगै चितवनले ५० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता पोखराले १५ लाख रुपैयाँमा चित्त बुझायो ।
पोखराले दिएको एक सय १२ रनको लक्ष्य चितवनले १५.५ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । चितवनको जितमा भिम सार्कीले ६३ रन बनाए । उनले ४५ बलमा सात चौका र दुई छक्का हानेका थिए । दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहमद साहजदले ११ रन बनाए । पोखराका किशोर महतोले चार विकेट लिए । नन्दन यादवले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ११ रन बनाए । पोखराका लागि असेला गुनारत्नेले ३४ रन बनाए । रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन बनाए ।
पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले चार विकेट लिए । करिम जनत र सेकुग्गे प्रसन्नले दुई दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालले एक एक विकेट झारेका थिए । प्रतियोगितामा ६ वटा शहरका फ्रेन्चाइच टोलीले प्रतिस्पर्धा गरेका थिए ।