काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चुनौती दिएका छन् ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने इच्छा भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई चुनौती दिएका हुन् ।
आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल सुरु भएको थियो । शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,’ देउवाले भने, ’तर शासन व्यवस्थाविरुद्ध नलाग्नुस् ।’
संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै देउवाले त्यसलाई सुधार्दै जाने पनि बताए । कार्यक्रममा प्रतिष्ठानद्वारा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरिएको थियो ।