काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार १३४ ओटा पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९३२ ओटाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी कुल ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ । यसैगरी ३८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । त्यसैगरी हालसम्म ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।
मुलुकभरमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेको छ । यसैगरी ६ हजार ९४५ जना होम आईसोलेशनमा रहेका छन् भने ५५३ जना संस्थागत आईसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितमध्ये १९० जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।