काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई खेल प्रति चासो भए पनि खेल्न नसक्ने बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
कुन पनि खेल खेल्दा लड्नु स्वभाविक भएको भन्दै उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताए ।
दुई पटक मृगौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’
खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उनले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताए ।