काठमाडौं । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा पोर्चुगिज क्लब पोर्टोमालाई ३–१ गोल अन्तरले पराजित गर्दै उट्लेटिको नकआउट चरणमा प्रवेश गरेको हो ।
एट्लेटिकोलाई सहज जित दिलाउनको लागि एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र रोड्रिगो डि पउलले समान एक(एक गोल गरे । पोर्टोका सर्जियो ओलिभेइराले एक गोल फर्काए ।
खेलको ५६औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्जल कोरेआले गोल अग्रता दोब्बर पारे ।
त्यसको एक मिनेटपछि पउलले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा सर्जियो ओलिभेइराले गोल गरेपनि घरेलु टोलीको हार टरेन ।
यो जितसँगै एट्लेटिको समूहमा ६ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पराजित पोर्टो तेस्रो स्थानमा रहँदा एसी मिलान ४ अंक जोडेर पुछारमा रह्यो । लिभरपुल शतप्रतिशज जितसहित १८ अंक जोडेर शीर्षस्थानमा रह्यो ।