काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा जारी १४औं महाधिवेशनमा विभिन्न १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसको जारी महाधिवेशनमा एक सभापति पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको हो । यसैगरी उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी ८ सहमहामन्त्री पदमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो ।
सभापतिमा १३औं महाधिवेशनपछि स्थापित नेता कृष्णप्रसाद सिटौला समूहले भने देउवालाई सघाएको छ । शनिबार देउवा सभापति पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा सिटौलासँगै गएका थिए ।
यसैगरी उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छेदार उम्मेदवार बनेका छन् । यस्तै कोइरालाको समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार बनेका छन् भने सिंहको समूहबाट नेतृ सुजाता कोइराला सभापतिको उम्मेदवार बनेकी छन् भने निधिको समूहबाट दिवेश्वरी शाह उपसभापतिको उम्मेदवार बनेका छन् ।
यसैगरी नेता महेश अचार्यलेसमेत उपसभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनी कतै पनि खुलेका छैनन् । कांग्रेस विधानमा दुई उपसभापति निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।