काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ । सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० ले हराउदै जित हात पारेको हो । नेपाल २५–८, २५–१४, २४–१७ को सोझो सेटमा विजयी भयो ।
यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ । अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ । अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
श्रीलंकाबाहेक अन्य टिमलाई नेपालले ३–० को सेटमा पराजित गरेको थियो । श्रीलंकालाई भने नेपालले ३–२ ले हारएको थियो । समूहमा शीर्ष स्थानमा रहेसँगै नेपालले १४ अंक जोड्यो । महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।
दुई वर्षअघि भएको प्रतियोगितामा नेपालले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो । यता पुरुषतर्फ नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । आइतबार नेपालले माल्दिभ्सलाई हराएको थियो । यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो । आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो ।
पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।