काठमाडौं । अपराजित रहँदै उपाधि चुमेको नेपाली महिला भलिबल टोली र चौथो भएको पुरुष टोली स्वदेश फकिएको छ ।बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन च्यालेन्ज कपमा उत्कृष्ट प्रस्तुती पछि टोली नेपाल फर्किएको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, निरोज मास्के लगायतले टोलीलाई स्वागत गरेका थिए ।
मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो । ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
पुरुषतर्फ भने ५ टिम सहभागि रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।