काठमाडौं । पुस मसान्त सम्ममा १८ बर्ष माथिका ५९.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने ओली सरकारले लक्ष्य लिएको थियो । यद्यपि लक्ष्य भने पुरा हुन सकेन । अघिल्लो सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत अर्थात् एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रामा खोप दिने घोषणा गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७८.६ प्रतिशतले खोपको कम्तीमा एक मात्रा लगाएका छन् । सरकारले १८ दिन अघि दैनिक ५ लाख खोप लगाइने योजना सार्वजनिक गरेको थियो । यसका बाबजुद ६६ प्रतिशत जनसंख्यालाई पुस मसान्तभित्र खोप लगाइसक्ने सरकारी लक्ष्य पूरा हुन नसकेको हो । पुस १२ गते एकैदिन ५ लाख ६८ हजार ३ सय १९ जनालाई खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसमेत दिएका थिए ।
त्यसपछि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै खोप लगाउन सर्वसाधारणलाई प्रेरित गरेको थियो । यद्यपि लक्ष्यअनुसार खोप लगाउन सरकार असफल देखिएको छ । गता साताको तथ्याङ्क हेर्ने हो भने दैनिक पाँच लाख मात्रा खोप लगाउने लक्ष्य पनि पूरा हुन सकेन । पुस २२ गते अर्थात् गत बिहीबार १ लाख २० हजार ६५३ मात्रा खोप लगाइएको थियो भने शुक्रबार २ लाख ६३ हजार ३ सय ७१ खोप लगाएको स्वास्थ्य मन्त्रालय जनाएको छ । यस्तै, शनिबार २ लाख ४३ हजार ४६० मात्रा, आइतबार ४५ हजार ४९३ मात्रा, सोमबार २ लाख १० हजार ५९४ मात्रा खोप लगाइएको थियो ।