काठमाडौं । बेलायतबाट फर्किदा एयरपोर्टमा रक्सी काण्ड मच्चाएर चर्चामा आएका नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीको अर्को काण्ड बाहिर आएको छ।
गत २३ कात्तिक शनिबार भाइटीकाको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किदा उनको ब्यागेजमा विमानस्थल भन्सार कार्यालयले ६ वटा रक्सीका बोतलहरु भट्टाएपछि कारबाहीमा परेका रेग्मीको विमानस्थल भन्सार कार्यालय अर्को अबैध धन्दाको समेत पर्दाफास गरेको छ ।
रेग्मीले भन्सारबाट नियमविपरित अबैध रुपमा सुन तस्करी गरेर समेत भित्र्याउन खोज्दा जफत भएर जरिवाना तिरेको प्रमाण समेत खुलेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यलयका कर्मचारी समेत कुटेर हिड्ने रेग्मीले अबैध रुपमा भित्राउन खोजेको ३० ग्राम सुन जफत गरेर जरिवाना गरिएको जानकारी भन्सार कार्यलयले दिएको छ ।
पुष ३० गते भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको विवरणमा विस्कुट आकारका तीन थान सुनका डल्ला जफत गरिएको र बिगो बमोजिम एक लाख ४० हजार ६८५ रुपैया जरिवाना हुने निर्णय भएको जनाइएको छ ।
रेग्मी कतार एयरलायन्सको उडानबाट नेपाल आउँदा २०७४ साल पुष ७ गते अवैध रुपमा सो सुन ल्याएको भन्सार कार्यालयले जनाएको छ ।