logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • हजारको आम्दानी हुने पाखाबाट लाखौंको कमाई, जहाँ फल्छन् ५० लाख बराबरको सुन्तला 

    हजारको आम्दानी हुने पाखाबाट लाखौंको कमाई, जहाँ फल्छन् ५० लाख बराबरको सुन्तला 

    2.3K
    Shares

    म्याग्दि । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले  सुन्तला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्राएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्राएका हुन् । पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन् । दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा पचास लाख रुपैयाँ गाउँमा भित्रिएको जानकारी दिए ।

    विगतका वर्ष मङ्सिर महिनामै सुन्तला बिक्री गरिसकेका हुन्थे । यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।  एकजना किसानले रु तीस हजारदेखि रु दुई लाख तीस हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तलाखेती भएको छ । पन्ध्र हजार बोटमध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ ।

    परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रु पचास हजार भन्दा बढी आम्दानी भएको उनले बताए ।  सडक यातायातको सुविधा भएपछि बाझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् । 

    दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसाद अधिकृत गोविन्द पाण्डेले बताए ।

    दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले बताए । बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवनसमेत निर्माण भएको थियो । दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तलाखेती विस्तारमा जोड दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend