काठमाडौं । सरकारले बुस्टर डोज खोपका लागि थप दुई करोडभन्दा बढी मात्रा चाहिने प्रारम्भिक प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप भण्डारण र पाइपलाइनमा रहेको खोप बाहेक बुस्टर डोजका लागि थप खोप दुई करोड मात्राभन्दा बढी चाहिने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रामा खोप लगाएका सबैजनालाई बुस्टर डोज दिने तयारी स्वरूप सो प्रक्षेपण गरेको हो ।
यद्यपि सरकारले बुस्टर डोज खोप खरिद प्रक्रिया भने अगाडि बढाएको छैन । विभागका एक कर्मचारीले भने, “बुस्टर डोज खोपका लागि अनुदानमा कति मात्रा प्राप्त गर्न सक्छौँ, त्यसबारेमा पहिला निर्क्योल गर्छौं । अनुदानबाट प्राप्त खोपले नपुग्ने अवस्था भएमा कति खरिद गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ ।’
सरकारले माघ ४ गतेदेखि अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्ति, ६० वर्षमाथिका र दीर्घरोगीलाई बुस्टर डोज खोप दिन सुरु गरिसकेको छ । बुस्टर डोज खोप दिँदा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन सुरु गरेको छ ।
मन्त्रालयका अनुसार केही ठाउँमा अभियान सुरु भइरहे पनि अबको एक सातापछि सबै खोप केन्द्रबाट प्राथमिकतामा पर्नेले बुस्टर डोज सक्छन् । चैत मसान्तसम्ममा १८ वर्षभन्दा माथिका पूर्ण जनसङ्ख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।
भण्डारण र पाइपलाइनमा रहेको खोपले लक्षित समूहलाई पुग्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए । बुस्टर डोज दिनका लागि पाइपलाइनमा रहेका बाहेक थप खोपको आवश्यक पर्ने भएकाले बुस्टर डोज खोपका लागि आवश्यक तयारीमा जुटिरहेको प्रमुख डा. चौरसियाको भनाइ छ ।
भेरोसेल खोपको ६ लाख मात्रा अझै मौज्दात
स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाएका ६० वर्ष नाघेका र दीर्घरोगीलाई बुस्टर डोज लगाउँदामा पहिला लगाएकै खोप लगाउन सुझाव दिएको थियो । तर काठमाडौँ उपत्यकामा ६० वर्ष उमेर पुगेका र दीर्घरोगी बुस्टर डोज खोप दुई दिनसम्म लगाए पनि तेस्रो दिनबाट पाएनन् ।
मन्त्रालयले भण्डारणमा कति खोप छ भन्ने आकलन नगरीकन दुवै मात्रा जुन खोप लगाएको त्यही खोप लगाउन निर्देशन दिँदा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम दुई दिनसम्म मात्रै चल्यो । यद्यपि भेरोसेल ६ लाख मात्रा मौज्दात रहेको प्रमुख डा. चौरसियाले बताए । सो खोप पहिलो मात्रा भेरोसेल लगाएकाहरूलाई दोस्रो मात्रा दिइनेछ । हालसम्म भेरोसेल खोप पाइपलाइनमा नभएको समेत उनले बताए । चीन सरकारको सहयोगमा ४० लाख मात्रा सिनोभ्याक खोप पाइपलाइनमा रहेको उनले बताए ।
खोप मौज्दात कति छ ?
कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहँदा केन्द्र, प्रदेश, जिल्ला लगायतका भण्डारण केन्द्रमा खोप मौज्दात रहेको छ । प्रमुख डा. चौरसियाका अनुसार सबै भण्डारण केन्द्रमा गरी हालसम्म भेरोसेल ६ लाख मात्रा मौज्दात छ ।
कोभिसिल्ड ३० लाख ७१ हजार मात्रा मौज्दात रहेको छ भने मोडर्ना १५ लाख ८ हजार ४०० मात्रा रहेको छ । यस्तै फाइजर तीन लाख ५३ हजार मात्रा मौज्दात छ भने जोन्सोन ५ लाख २७ हजार ७९५ भण्डारणमा मौज्दात छ । एस्ट्राजेनिका १२ लाख २५ हजार ४०० मात्रा खोप मौज्दात रहेको छ ।
पाइपलाइनमा खोप
चीन सरकारको सहयोगमा सिनोभ्याक ४० लाख मात्रा पाइपलाइनमा छ । यस्तै बेलायत सरकारको सहयोगमा २१ मात्रा एस्ट्राजेनिका र मोडर्र्ना १ लाख ४० हजार मात्रा खोप आउने प्रक्रियामा रहेको प्रमुख डा. चौरसियाले बताए ।
यसैगरी पाइपलाइनमा रहेको ६२ लाख फाइजर खोपलाई ८४ लाख मात्रा पु¥याएर ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने निर्णय सरकारले गरिसकेको छ । ती बालबालिकालाई अबको दुई महिनाभित्र खोप दिन सुरु गरिने बताइएको छ । १२ देखि १८ वर्ष समूहका बालबालिकालाई ६२ लाख १९ हजार मात्रा फाइजर खोप कोभ्याक्स सुविधामार्फत आउने भएको छ ।