काठमाडौं । वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजाकै दिन ’मल्टी अर्गान फेलर’का कारण मंगेसकरको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उनलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उपचार थालिएको थियो ।
लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी थिईन् । उनले ३० हजार भन्दा धेरै गीत गाएकी छन् भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत स्वर दिएकी छन् । उनले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी छन् ।
उनले फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित पनि भएकी थिईन् । उनको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।