काठमाडौं । पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।
आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहीत बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।
मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो । पेनाल्टी सुट आउटमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ र साडियो मानेले गोल गरे । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए । त्यस्तै, इजिप्टका लागि जिजो र मारवान हान्डीले गोल गर्न सफल हुँदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।
यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमाएकाे थियाे ।