logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • बेनी-जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन

    बेनी-जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन

    2.5K
    Shares

    म्याग्दी । राष्ट्रिय योजना आयोगले बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । 

    उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रेको अध्ययन गर्न निर्देशन दिएका हुन् । आयोजनाका प्रमुख जगत प्रजापतिले टोलीले पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थानमा सुरुङ र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्रे गर्ने निर्देशन दिएको बताए । 

    “सडक विस्तार गर्न नसकिने कमजोर भूगोल र चट्टानी पहाड भएको भिरकाटे र रुप्से खण्डमा सडकको विकल्पमा सुरुङ बनाउनका लागि अध्ययन गर्न निर्देशन दिनुभयो”, उनले भने, “ग्राभेल भएको जोमसोम–कोरला खण्डको सडक कालोपत्रे गर्ने योजना अघि बढाउन उपाध्यक्षले निर्देशन दिनुभएको छ ।” 

    सडकलाई दिगो र सुरक्षित बनाउन जोखिमयुक्त ठाउँमा सुरुङ बनाउने विकल्प रोज्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो । कोरला नाकाको व्यापारिकका साथै परम्परागत र ऐतिहासिक गुम्बाको धार्मिक पर्यटन विकासको आवश्यकता रहेको उपाध्यक्ष पौडेलले बताए । उनले मुस्ताङ र डोल्पा जोड्ने सडकलाई पनि प्राथमिकता दिनुपर्ने बताए । 

    आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङको प्रारम्भिक अध्ययन गरिसकेको प्रमुख प्रजापतिले बताए । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको १३ मध्य जोमसोम–कोरला खण्डको छवटा खण्ड स्तरोन्नति सकिएको छ । 

    आइतबार मुस्ताङ आएको उपाध्यक्ष पौडेल, सहसचिव  राजेन्द्र पौडेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका इन्जिनीयर ललिजन खनाल र तिब्बती भाषाविद् पुण्यप्रसाद पराजुलीको टोली आज काठमाडौँ फर्किएको छ । 

    प्रजिअ नेत्रप्रसाद शर्माले आयोगको टोलीले बेनी–जोमसोम–कोरला सडक र उपल्लो मुस्ताङका गुम्बाको अनुगमन गरेको बताए । स्थलगत निरीक्षणपछि टोलीले जोमसोममा जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालासँग छलफल गरेको थियो । मुस्ताङमा सञ्चालित कृषि परियोजना र त्यसको प्रभावकारिताको विषयमा मार्फाका कृषकसँग छलफल गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend