काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको हो ।
त्यसका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ भने सोही इन्चार्ज मातहत रहने गरी सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य सम्मिलित समितिले प्रदेशका जिल्लाहरूलाई समेटेर चुनावी कमाण्डहरु बनाउने छ । सो कमाण्डले पुनः स्थानीय तहसम्म सहायक कमाण्डहरु बनाएर चुनावमा होमिने गरी पार्टीले निर्णय गरेको एक नेताले जानकारी दिए ।
चुनावका लागि माओवादीले विभिन्न ८ वटा योजना बनाएर दुई महिने अभियान चलाउने निर्णय गरेको छ । त्यसका लागि ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नारा तय गरिएको प्रचण्डले बैठकमा प्रचण्डले जानकारी दिएका थिए ।
दुई महिनाको अवधिमा भेला, प्रशिक्षण, संगठन विस्तार, सदस्यता वितरण लगायतका अभियान चलाउने माओवादीले निर्णय गरेको छ ।
यस्तो छन् ८ योजना
१.२१ औँ शताब्दीको समाजवादको नेपालीकरण र समृद्धिको कार्यक्रम अनुरूप पालिकास्तरमा घोषणापत्र बनाउने । तोकिएको मापदण्डका आधारमा उम्मेदवारको सूची बनाउने ।
२. संगठन सुदृद्धिकरण र विस्तारसम्बन्धी कार्ययोजना बनाउने।
– सबै तहका कमिटीलाई पूर्णता दिने । स्थानीय तहमा आवश्यक विभागहरू गठन गर्ने । घरघरमा सदस्य, टोल टोलमा सदस्यता अभियान चलाउने ।
३. व्यवस्थापकीय कार्यक्रम
–राजनीतिक प्रशिक्षण । स्वयम्सेवकहरुलाई गाउँ टोलमा खटाउने ।
४. प्रभावकारी प्रचार संयन्त्र
–नगर गाउँपालिकामा प्रचार शाखा बनाउने । सामाजिक सञ्जालमा प्रचार समूह बनाउने । व्यापक प्रचार प्रसार गर्ने । केन्द्रमा पनि आईटी टीम बनाउन
५. अध्ययन, संश्लेषण तथा विश्लेषणसम्बन्धी कार्यक्रम
–आर्थिक सामाजिक र राजनीतिक अवस्थाको रिपोर्ट बनाउने । आवश्यक रणनीति बनाउने ।
६. राजनीतिक तथा प्रशासनिक समन्वय
–चुनावबारे अन्य पार्टीसँग समन्वय गर्ने । अभियान टोली र पालिकासँग समन्वय गर्ने । सांस्कृतिक टोलीको समयतालिका बनाउने ।
७. सांस्कृतिक टोली
–स्थानीय सांस्कृतिक विषयलाई महत्त्व दिने । स्थानीय कलाकारलाई सहभागी गराउने, चुनावी प्रचारमा कलाकारलाई सहभागी गराउने
८. गठबन्धनका घटकहरूसँग चुनावी तालमेल गर्न वार्ता र संवादको थालनी गर्ने ।
चुनावी नारा पनि तय
यस्तै माओवादीले केन्द्रीय समितिको बैठकबाट विभिन्न चुनावी नारा पनि तय गरेको छ । जसअनुसार प्रमुख चुनावी नारा यस्ता छन्–
–गाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँ ।
–माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व
–नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ प्रदेश र स्थानीय जनसरकार
–सबैखाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तको उपलब्धिको रक्षा र विस्तार गरौँ
–श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि
–विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ ।