logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • तनहुँमा खेलकुद गतिविधि बढ्दै 

    तनहुँमा खेलकुद गतिविधि बढ्दै 

    2.4K
    Shares

    तनहुँ । कोभिड–१९ को जोखिम कम हुँदै गएपछि तनहुँमा खेलकुदका गतिविधि बढेका छन् । जिल्लाका स्थानीय तहले दौड, फुटबल, भलिबल, व्याडमिन्टन, डोरी तान्ने खेलकुद सञ्चालन गर्न थालेका हुन् । 

    व्यास नगरपालिकाले महिला हाफ म्याराथन सम्पन्न गर्नाका साथै अल्ट्रा म्याराथन र मेयर–उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । माघ १६ गते सहिद दिवसका अवसरमा हुने पाँचौँ अल्ट्रा म्याराथन कोभिडका कारण स्थगन भएकामा फागुन २८ गते सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । यस्तै गत वर्षदेखि नारी दिवसका अवसर पारेर सुरु गरिएको महिला हाफ म्याराथन फागुन २४ गते सम्पन्न भएको थियो ।

    व्यास नगर अल्ट्रा म्याराथन ४४ किमी दूरीको छ । व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन वडा नं ८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । 

    नगरपालिकाले म्याराथनलाई पर्यटन प्रवद्र्धनसँग जोड्न खोजेको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । “पर्यटकीय गाउँ मानुङ र सहिदहरूको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनले त्यस ठाउँको प्रवद्र्धन हुने विश्वास गरेका छौँ”, उनले भने ।

    अल्ट्रा म्याराथनमा प्रथमलाई रु ८५ हजार ७८, द्वितीयलाई रु ६५ हजार ७८, तृतीयलाई रु ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु १६ हजार ७८ प्रदान गरिनेछ । अल्ट्रा म्याराथनमा २०० र महिला हाफ म्याराथनमा १५० धावक सहभागी हुने अनुमान गरिएको छ ।

    मेयर–उपमेयर कप फुटबल प्रतियोगिता

    व्यास नगरपालिकाकै आयोजनामा मेयर–उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता हुने भएको छ । नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा नगरपालिकाले माध्यमिक विद्यालयस्तरीय उक्त प्रतियोगिता गर्न लागेको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलप्रतिको रुचि बढाउने उद्देश्यसहित नगरपालिकाले विगत वर्षदेखि सो  प्रतियोगिता गर्दै आइरहेको हो । 

    चैत ३ देखि ५ गतेसम्म वडा नं१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिनुभयो । खेलाडीको सहभागिताका लागि फागुन ९ देखि २९ गतेसम्म दर्ता गर्न सकिनेछ । खेलाडीको जन्ममिति विसं २०६० वैशाख १ गतेभन्दा अघिल्लो जन्ममिति मान्य नहुने बताइएको छ ।

    खेलाडीको नाम दर्ता गर्दा कक्षा ९ र १० को हकमा आधारभूत तह उत्तीर्ण भएको ग्रेडसिट र कक्षा ११ र १२ को हकमा एसइइको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि सम्बन्धित विद्यालयले प्रमाणित गरी पेश गर्नुपर्ने उनले जानकारी दिए । प्रतियोगितामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ । 

    भिमादमा मेयर कप

    भिमाद नगरपालिकाले पाँचौँ भिमाद मेयर कप अन्तरपालिका स्तरीय पुरुष भलिबल तथा क्लबस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । भलिबलको विकास तथा नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यअनुरुप चैत १ देखि प्रतियोगिता गर्न लागिएको हो । 

    पुरुषतर्फ प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ७५ हजार र तृतीय हुनेलाई रु ५० हजार नगद प्रदान गरिने खेल संयोजक प्रेमबहादुर थापाले जानकारी दिए । महिलातर्फ प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार नगद प्रदान गरिनेछ । 

    आँबुखैरेनीमा अध्यक्ष कप सुरु

    आँबुखैरेनी गाउँपालिकाले प्रथम अध्यक्ष कप प्रतियोगिता सुरु गरेको छ । फागुन १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, फुटबल, डोरीतान, व्याडमिन्टन खेल सञ्चालन गरिने त्यहाँका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend