काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार पारेको छ । उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षक लगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ ।
आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुनेछ । ‘आयोगले मिति तोक्छ । सायद चैतको दोस्रो साताबाट लागू हुन्छ होला,’ आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने ।
आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले मनोनयन दर्ता गर्ने बेलासम्म बहाल रहेको पदबाट राजीनामा दिइसक्नु पर्ने उल्लेख गरिएको छ ।
आचार संहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू पनि समावेश गरिएको छ । राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ ।